Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sindhuli

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sindhuli

Low Bandwidth Invert Color A- A A+

District Profile 2075-06-19

सिन्धुली जिल्ला परिचय

१. परिचय

ऐतिहासिक सिन्धुलीगढीको जिल्ला भनेर परिचित सिन्धुली जिल्लालाई जुनारको जिल्लाको रुपमा समेत चिनिन्छ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा परिचित डोयहरुको वि.सं. १३६७ को काठमाण्डौ आक्रमण हुँदै राणाकाल तथा शाहकालीन समयसम्म राजनीतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ । यसरी आफ्नो छुट्टै पहिचान रहेको सिन्धुली जिल्ला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको बागमती प्रदेश अन्तर्गत रहेको छ । नमुना राजमार्गका रुपमा बिपी राजमार्ग निर्माण भई सञ्चालनमा आए पश्चात् पछिल्लो समय सिन्धुली जिल्ला मधेश प्रदेश र कोशी प्रदेशलाई राजधानीसँग जोडने प्रमुख द्वारको रूपमा विकसित भइरहेको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण र पछिल्ला जनगणनाका आधारमा तयार गरिएको लघुक्षेत्र अनुमानका आधारमा सिन्धुली न्यून समृद्धिस्तर भएका जिल्लाहरुको सूचीमा पर्दछ । जुनार र जङ्गल आर्थिक विकासको आधार मानिएको सिन्धुली जिल्ला नेपालको सबै भन्दा बढि जुनार उत्पादन गर्ने जिल्ला हो ।

२.भौगोलिक अवस्थिति

क्षेत्रफल                            २४९१ वर्ग किमी

अक्षांश                             २६०  ५५’ देखि २७० २२’ उत्तरी अक्षांश

देशान्तर                            ८५०  १५’  देखि ८६० २५’ पूर्वी देशान्तर

उचाइ                                १६८ मिटरको उचाइदेखि २७९७ मिटरसम्म

लम्बाई                              १०६ किमी

चौडाइ                              २३.३ किमी

हावापानी                          बिषम (उष्ण, उपोष्ण र समशीतोष्ण)

वर्षात                                औषत् १४२० मि.मि. (सबैभन्दा उच्च ३५५४ मि.मि.)

तापक्रम                            ५.३ सेन्टिग्रेडदेखि २८.३ सेन्टिग्रेडसम्म

सिन्धुली जिल्लाको सिमाना

पूर्व तर्फ                             उदयपुर, सिराहा

पश्चिम तर्फ                         रौतहट, मकवानपुर र काभ्रेपलाञ्चोक

उत्तर तर्फ                           रामेछाप, ओखलढुंगा

दक्षिण तर्फ                        धनुषा, महोत्तरी, सर्लाही

३.राजनैतिक/प्रशासनिक विभाजन

संघीय नेपालको बागमती प्रदेशमा पर्ने यस जिल्लामा सात गाउँपालिका र दुई नगरपालिका सहित नौ वटा स्थानीय तह रहेका छन्, जसमा जम्मा ७९ वटा वडा रहेका छन् । हाल जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र दुई वटा र प्रदेश सभा निर्वाचन क्षेत्र ४ वटा रहेको छ।

सि.नं

स्थानीय तह

वडा संख्या

प्रतिनिधि सभा क्षेत्र

प्रदेश सभा क्षेत्र

दुधौली नगरपालिका

१४

तीनपाटन गाउँपालिका

११

फिक्कल गाउँपालिका

गोलन्जोर गाउँपालिका

कमलामाई नगरपालिका

१४

सुनकोशी गाउँपालिका

घ्याङलेक गाउँपालिका

मरिण गाउँपालिका

हरिहरपुरगढी गाउँपालिका

४.भू–उपयोगः

राष्ट्रिय कृषि गणना, २०७८ अनुसार सिन्धुली जिल्लाको कुल भू(भागमध्ये मध्ये ५७.७ प्रतिशत भू-भाग पहाडी क्षेत्रमा पर्दछ भने ४२.३ प्रतिशत भू(भाग मध्य पहाडी क्षेत्रमा पर्दछ । जिल्लाको कुल घरपरिवार मध्ये ७८.९६ प्रतिशत अर्थात् ५४,७३५ परिवार कृषक परिवार रहेका छन् । जिल्लामा २५,०३८.५ हेक्टर जमिन कृषिका लागि उपयोग गरेको देखिन्छ । औषतमा प्रति परिवारले ०.४६ हेक्टर जमिनमा कृषि गरेको देखिन्छ । कृषिका लागि उपयोग भएको जमिन २५,०३८.५ हेक्टर जमिनमध्ये ११,३८५.९ हेक्टर अर्थात् कृषि योग्य जमिनको ४५.५१५ जमिनमा सिचाई सुविधा पुगेको देखिन्छ । यस क्षेत्रको भूमिमध्ये कमला नदी, तीनपाटन क्षेत्र र मरिण खोला धान तथा मकै बालीका लागि उत्तम क्षेत्र रहेको छ । त्यसै गरी जिल्लाको उत्तरी क्षेत्रमा फल्ने जुनार सिन्धुली जिल्लाकै पहिचानको रुपमा रहेको छ भने भूइँकटहर तथा आँपका लागि पनि सिन्धुली जिल्ला उपयुक्त रहेको छ । जिल्लाको ६७ प्रतिशत भूभाग वन क्षेत्रले ढाकेको भएपनि पर्याप्त शिक्षा तथा चेतनाको अभावले उक्त वनजंगल विनास बढ्दै गएको छ । उत्तरको पहाडी क्षेत्रको भूमि त्यति उर्वर छैन र यो क्षेत्रको धेरैजसो भूमि वनजंगल तथा वुट्यानले ढाकेको छ भिरालो जमिन भएकाले यहाँ पहिरो जाने तथा भूक्षय हुने गरेको छ । त्यसै गरी चुरे पर्वतमा पर्ने भू–भाग बढी भिरालो धरातल, कडा चट्टान र वालुवाले बनेकोले उक्त क्षेत्र पनि खेतीपातीको लागि योग्य छैन ।

५.जातजाति, भाषाभाषी, भेषभुषा र रहनसहन

जातीगत आधारबाट हेर्दा राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार सिन्धुली जिल्लामा पहिलो स्थानमा तामाङ जाती ८०,००३ जना (२६.६७ प्रतिशत) त्यसपछिका प्रमुख जातीहरुमा क्रमश मगर ४२,१६८ जना (१४.०५ प्रतिशत) क्षेत्री ३९,८४४ जना (१३.२८ प्रतिशत), ब्राम्हण २१,७८४ जना (७.२६ प्रतिशत) र नेवार १८,६९७ जना (६.२३ प्रतिशत) रहेका छन् । यस जिल्लामा भाषाहरूमा मातृभाषा नेपाली बोल्नेको संख्या सबैभन्दा बढी नेपाली भाषा १,५७,०६४ जना (५२.३५ प्रतिशत), तामाङ भाषा बोल्ने संख्या ७५,३८६ जना (२५.१२ प्रतिशत), मगर ढुट भाषा बोल्नेको संख्या २४,३३५ जना (८.११ प्रतिशत), दनुवार भाषा बोल्नेको संख्या १९,८२५ जना (६.६१ प्रतिशत र नेवारी भाषा बोल्नेको संख्या ६,२४१ (२.०८ प्रतिशत) रहेका छन् ।

तामाङबहुल पहाडी जिल्ला भएकोले यहाँको रहनसहनमा प्रशस्त मात्रामा तामाङ जातिको प्रभाव परेको पाइन्छ । प्रायः वस्तीहरु एकै स्थानमा झुपुक्क परेर रहेको देखिन्छ । अधिकांश घरहरु ढुङ्गा माटो र काठबाट निर्मित तथा काठ र खर, टायल प्रयोग गरी छाना छाइएको अवस्थामा पाइन्छन् । २०७१ सालको विनाशकारी भूकम्प पश्चात् निर्माण भएका घरहरु भने अर्ध पक्की तथा जस्ताले छाएको भेटिन्छ । यहाँका मानिसहरुको भेषभुषामा कमिज, पाइन्ट, सुरुवाल, टोपी, फरिया, पटुका, चोलो आदि रहेका छन् ।

६.आर्थिक आधार

यस जिल्लाको आर्थिक पक्षको मुल आधार कृषि क्षेत्र नै हो । यस जिल्लामा  उद्योग र पर्यटन व्यवसाय निकै त्यति फस्टाउन सकेको छैन । राष्ट्रिय कृषि गणना, २०७८ अनुसार यहाँ ५४,७३५ घरपरिवार कृषक परिवार रहेका छन् । स्थायी बालीहरुमा जुनार, सुन्तला कागती, आँप, केरा भुई कटहर आदी प्रमुख रहेका छन् । ती मध्ये जुनार मुख्य रुपमा रहेको छ । 

७.जनसंख्या

राष्ट्रिय जनगणना, २०७८ अनुसार सिन्धुली जिल्लाको कुल जनसङ्ख्या ३,००,०२६ रहेको छ । कुल जनसंख्यामध्ये पुरुष १,४७,०६५ जना र महिला १,५२,९६१ जना रहेको छ । कुल ६९,३६४ परिवारहरुमा प्रति परिवार लगभग ४.३३ जना सदस्यहरु रहेको पाइन्छ । यस जिल्लाको औषत वार्षिक जनसङ्ख्या वृद्धिदर ०.१२ प्रतिशत रहेको छ । जिल्लाको लैङ्गिक अनुपात ९६.१५ अर्थात् १०० जना महिलामा ९६.१५ जना पुरुष रहेको छ । यस जिल्लाको साक्षरता दर ७२.५९ प्रतिशत रहेको छ ।

स्थानीय तह अनुसार सबैभन्दा कम जनसंख्या १२,६५१ जना घ्यङलेख गाउँपालिका र बढी जनसंख्या ७१,०१६ जना कमलामाई नगरपालिकामा रहेको छ। स्थानीय तह अनुसार परिवारको औषत आकार सबैभन्दा बढी हरिहरपुरगढी गाउँपालिका ५.०१ जना र सबैभन्दा कम सुनकोशी गाउँपालिका ३.६८ जना सदस्यहरू रहेको छ । साक्षरतादर सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७७.०७ प्रतिशत र सबैभन्दा कम हरिहरपुरगढी गाउँपालिकाको साक्षरता दर ६७.४५ प्रतिशत रहेको छ ।

तालिकाः सिन्धुली जिल्लाको जनसांख्यिक विवरण           

               

  तालिकाः सिन्धुली जिल्लाको स्थानीय तह अनुसार जनसंख्या

८. जिल्लाका भौगोलिक क्षेत्र

सिन्धुली जिल्ला भौगोलिक हिसावले पहाडी प्रदेशमा पर्दछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार यसलाई भित्री मधेशको जिल्ला अन्तर्गत राखिएको छ । यस जिल्लाको उत्तरी भागमा पश्चिमबाट पूर्वतिर बगेको सुनकोशी नदी, मध्यभागमा महाभारत श्रृङ्खला र सदरमुकामभन्दा पश्चिमतर्फ बगेको मरिनखोला र दक्षिणपूर्व हुँदै बगेको कमला नदी पर्दछ भने दक्षिणमा चुरे क्षेत्रले तराईका विभिन्न जिल्लाहरुसँग सिमाना छुट्याएको छ । 

गढतीर क्षेत्रः  महाभारत श्रृङ्खलाभन्दा उत्तरतिर अवस्थित रहेको तथा सुनकोशी नदीको किनारा क्षेत्रलाई गढतीर क्षेत्र भनिन्छ । सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाका धेरै भूभागहरु यस क्षेत्रमा पर्दछन् । यस क्षेत्र तुलनात्मक रुपमा सुख्खा तथा भिरालो जमिन रहेको तथा खरको छानो भएको आवासहरु रहेको छ । भूउपयोगको हिसावले यो उब्जनी क्षेत्र पनि हो । यस क्षेत्रबाट मध्यपहाडी लोकमार्ग सञ्चालित भएसँगै सेवा तथा सुविधाको पहुँच पुगेको छ ।

मरिण क्षेत्रः महाभारत श्रृङ्खलाभन्दा दक्षिण तथा सिन्धुली सदरमुकामभन्दा पश्चिम मरिण खोलाको आसपासमा रहेका घ्याङलेक गाउँपालिका, कमलामाई नगरपालिका वडा नं. १ र २ का केही भूभाग, मरिण गाउँपालिका तथा हरिहरपुरगढी गाउँपालिका  यस क्षेत्र अन्तर्गत पर्दछन् । मरिण खोलाको उद्गम स्थल घ्याङलेक गाउँपालिका वडा नं. २ देखि हरिहरपुरगढी गाउँपालिका वडा नं.  ९ सम्मका क्षेत्र यस भेगमा पर्दछन् । भू-उपयोगको हिसावले यस क्षेत्रलाई उब्जनी क्षेत्रको रुपमा पनि चिनिन्छ । ठूला–ठूला फाँटहरुबाट पर्याप्त मात्रामा उब्जनी हुने यस क्षेत्रबाट हेटौंडा धरान जोड्ने मदन भण्डारी मार्गको निर्माणसँगै कृषि सामाग्रीहरुको निर्यात हुने अवसर रहेको छ ।

कमलाखोंज क्षेत्रः सिन्धुली सदरमुकामभन्दा दक्षिण–पूर्व कमला नदी आसपासका बस्तीहरुलाई कमलाखोंज क्षेत्र भनिन्छ । यस क्षेत्र अन्तर्गत दुधौली नगरपालिका र कमलामाई नगरपालिका वडा नं. ९, १०, १३ र १४ का बस्तीहरु पर्दछन् । यो क्षेत्र अन्न तथा फलफूल उब्जाउ हुने क्षेत्र हो । यहाँ रहेका ठुल्ठूला फाँटहरुबाट बर्षेनी ठूलो मात्रामा अन्न तथा फलफूल उत्पादन हुने गर्दछ ।

तीनपाटन क्षेत्रः सिन्धुली सदरमुकामभन्दा पूर्वमा रहेको तीनपाटन गाउँपालिकाको सम्पूर्ण भूभाग तीनपाटन क्षेत्रका नामले परिचित ठाउँ हो । 

९.प्रमुख पर्यटकीय र धार्मीक स्थलहरु

दर्शनीय स्थल

ठेगाना

मेला लाग्ने समय र महत्व

सिन्धुलीगढी

कमलामाई नगरपालिका ३

ऐतिहाँसिक, पर्यटकीय, स्थल

हरिहरपुरगढी

हरिहरपुरगडी गाउँपालिका

ऐतिहाँसिक, पर्यटकीय स्थल

भद्रकाली मन्दिर

साबिक भद्रकाली हाल कमलामाई

बिजया दशमी तथा विभिन्न पर्वहरुमा

कमलामाई मन्दिर (माईस्थान)

कमलामाइ नगरपालिका-५

माघे संक्रान्ती

कालिकामाई मन्दिर

कमलामाइ नगरपालिका-५

माघे संक्रान्ती

शिद्रबाबा मन्दिर

कमलामाइ नगरपालिका-४

ऐतिहासिक

लंगुरेश्वर-मधुगंगा, बाबाधाम

साबिक हत्पते -२ हाल दुधौली नगरपालिका

श्रावण महिना

सर्वशिद्घेश्वर महादेव गुफा

साबिक बालाजोर-८ हाल तीनपाटन गाउँपालिका

हरितालिका तिज, ठूलीएकादशी, वालाचतुर्दशी, शिवरात्री

कुशेश्वर महादेव

साबिक कुशेश्वर दुम्जा हाल सुनकोशी

सोमवार, वालाचतुर्दशी, शिवरात्री

भद्रकाली गणेश स्थान

साबिक भद्रकाली ८, हाल कमलामाइ

मंगलवार

सर्पे ढुङ्गा

साबिक सिर्थौली गाबिस ८, हाल दुधौली

नाग पन्चमी

सिन्धुलीगढी

सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनितिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ कि.मी.को तन्काइमा रहेको महाभारत पर्वतको झण्डै मध्यभागमा करीव ५९ कि.मि.को विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट वि.पि.राजमार्गको सिन्धुलीमाढी – खुर्कोटको करीव २० कि.मी.को दुरीमा रहेको छ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रुपमा परिचित डोयहरुको काठमाण्डौ आक्रमण अर्थात वि.सं. १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राजनितिक, प्रशासनिक,सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ

हरिहरपुरगढी

सिन्धुली जिल्लाको सूदूर पश्चिम सीमाना तर्फ हालको हरिहरपुरगढी गाउँपालिकामा हरिहरपुरगढी पर्दछ । यो गढीको ऐतिहाँसिक महत्व धेरै ठूलो छ । यसको ऐतिहासिकता तर्फ हेर्दा वि.सं. १३८१ मा सिम्रौनगढका राजा हरिसिंहदेवलाई दिल्लीका मुसलमान गयासुद्दीन तुगलकले भीषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिए पछि राजा आफ्नी रानी, राजकुमार र मंत्री सहित उत्तरको पहाडी जंगलमा भागेर आफ्नो ज्यान वचाएका र सोही स्थानमा किल्ला वनाई बसेको हुँदा हरिसिँहदेवले स्थापना गरेको किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुर गढी भनेर चिनिन थाल्यो भनिएको पाइन्छ । नेपाल एकिकरणको अभियानमा पृथ्वी नारायण शाहले सिन्धुली गढी सँग सँगै हरिहरपुर गढीमा पनि ३०० गोर्खा फौजलाई तैनाथ गरका थिए । हरिहरपुर गढीमा शाही शासनकालमा तत्कालिन नेपाली सेनाको सानो टुकडी तैनाथ गरेर राखेको थियो । हरिहरपुरगढीमा पुग्न सहज रुपमा यातायातको सुविधा नभएकोले ऐतिहासिक महत्व हुदाहुदै पनि यस स्थानको पर्यटकिय विकास भने अपेक्षाकृत रुपमा भएको भने छैन ।

भद्रकाली मन्दिर 

कमलामाई नगरपालिका वडा नं २ मा रहेको वि.पि.राजमार्ग सँगै रहेको छ । यो मन्दिरलाई गोरखालीकी भगवति मनकामनाको वहिनी भनेर पनि विभिन्न लेखहरुमा पाइन्छ । यस मन्दिरको स्थापन शाह वंशीय राजा पृथ्वी नारायण शाह स्वयंले गरेको भन्ने लेखहरुमा पाइन्छ । पृथ्वी नारायण शाह गोर्खालीकी भगवति मनकामनाको भक्त भएकाले उनले अंग्रेजसँगको लडाईमा विजय प्राप्त होस् भनेर ढुंग्रेवासमा मनकामनाकी दिदि प्रतिक मानेर भद्रकालकिो मन्दिर आँफैले स्थापना गरेका थिए । यहाँ आएर मनले इच्छागरेको कुरा पूरा हुने जनश्रुती, सजिलै पुग्न सकिने गरी यातायातको सुविधा तथा यस मन्दिर रहेको स्थानबाट जिल्ला सदरमुकाम लगायत अन्य स्थानहरुको राम्रो दृश्यावलोकन गर्न सकिने भएकोले भद्रकाली मन्दिरमा दर्शनार्थिहरुको सँख्या बढेको छ ।

कमलामाई मन्दिर 

माइस्थान समेत भनिने कमलामाई मन्दिर कमलामाई नगरपालिकामा रहेको छ । यस मन्दिर जिल्ला सदरमुकामबाट वहने गौमति खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ । यस मन्दिर बिपि राजमार्गमै रहेको छ । यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहाँसिक तथा धार्मिक प्रतिष्ठाको कारण यस मन्दिरमा आउने भक्तजनहरुको ठूलो घुँइचो हुन्छ । कमलामाई मन्दिरको उत्पतिको सम्बन्धमा वास्तविक समय तथा प्रमाणिक कथनहरु भने अधुरै छन् । कमलामाई मन्दिरको धार्मिक प्रतिष्ठा ज्यादै उच्च छ । यस मन्दिरमा मकवानी राज्यका राजाहरु देखि इतिहासका विभिन्न समयमा देखिएका शासन प्रशासकहरुले चढाएको वस्तुहरुमा लेखिएको अक्षरहरुबाट थाहा हुन्छ । वि.सं. १८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालिन काजि भिमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारी सहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कुँदिएको छ । कमलामाई मन्दिरमा प्राय सवै समयमा दर्शनार्थिहरुको भिड लाग्छ तर पनि माघ महिना भरी यहाँ पाठी वली दिने कार्य ब्यापक हुन्छ । माघे संक्रान्तीमा यहाँ ठूलो मेला लाग्दछ । यो मेला भर्न नेपाल तथा भारतका समेत तिर्थालुहरु यहाँ आउँछन् ।

कालीमाई मन्दिर

जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका वडा नं. ४ मधुटारमा अवस्थित कालिमाईलाई शक्तिको प्रतिकको रूपमा भक्तजनहरूले मान्ने गरेको पाइन्छ। यस मन्दिरमा माघे सङ्क्रान्तिको पर्वमा भब्यमेला लाग्ने गर्दछ। यहाँ आ–आफ्नो मनोकाङ्क्षा पूरा गर्नको लागि पूजा आराधना गरी परेवा तथा कुखुराको वलि चढाउने गरिन्छ । राणाशासन कालमा सेनाको एक टुकडि आएर पहिला कालिमाईलाई र त्यसपछि कमलामाईलाई सलामी दिने गरेको उदाहरण विभिन्न लेख रचनाहरूमा उल्लेख गरेको पाइन्छ। भक्तजनहरू पहिला कालिकामाईको पूजा आराधना गरेर मात्र कमलामाईलाईको दर्शन गर्न जान्छन्। यस कालिकामाई मन्दिरको स्थापना कहिले र कसले स्थापना गर्यो भन्नेबारे हाल सम्म कुनै अभिलेख प्राप्त भएको छैन। शक्तिकी प्रतिक जगनजननी श्री कालीमाईको भक्तिभावले पूजाआराधना गर्नाले आफ्नो मनोकांक्षा पूराहुने र शक्ति प्राप्त हुने जनआस्था र विश्वास रहि आएको छ ।  सैनिक र प्रहरीको संयूक्त टोलीबाट श्री कालीमाईलाई सलामी दिईनुको साथै वली पूजा र फूलपाती भित्र्याउँने चलन रहेको छ ।

शिद्धबाबा मन्दिर, सिन्धुलीमाढी

यस मन्दिर जिल्ला सदरमुकामबाट नजिकै समुद्री सतहबाट करिव ८५० मिटरको उचाइमा रहेको च्याउकोट डाँडामा अवस्थित छ । यो मन्दिरको स्थापनाको सन्दर्भमा खासै प्रमाणिक आधारहरु नभए पनि यहाँ भएको इट्टा तथा इनारको अवशेषहरुले यो स्थान पुरानो दुर्गको रुपमा रहेको स्पष्ट हुन्छ । यहाँ एउटा जिर्ण घण्टी छ जसमा वि.सं १८१२ मा चढाएको भनि प्रष्ट सँग लेखिएको छ । यो घण्टी तत्कालिन मकवानपुरका राजा हेमकर्ण सेनको पालामा चढाएको कुरा प्रष्ट छ । शिद्घवावा मन्दिरमा जान करिव २ घण्टाको उकालो उक्लनु पर्दछ । यो स्थानबाट सिन्धुलीमाढीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । विशेष गरी बाबालाई शिद्घ पुरुषको रुपमा लिइए पनि भगवान शिवको पुजा आराधाना गर्ने अवसरमा यस मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्दछ । सदरमुकामको शिर्ष विन्दुमा रहेको र यसको एकान्तपनको विशेषताले विभिन्न उमेरका केटा केटीहरु यस मन्दिरमा पुगेर दिन विताउने गर्दछन् ।

पञ्चकन्या पोखरी 

सिन्धुली जिल्लाको साविक महादेवस्थान गा.वि.स. वडा नं. ९ मा पञ्चकन्या पोखरी पर्दछ । यो पोखरी जिल्ला सदरमुकामबाट करिव २२ कि.मी.को दुरीमा मरिन खोलाको चुरे खण्डतर्फको भागमा अवस्थित छ । यस पोखरीको उत्पतिको सन्दर्भमा खासै प्रमाणित भएका तर्कहरु पाइदैन । यस पोखरीको पानीमा रुखका पातहरु पर्ना साथ चराले टिपेर लाने, पोखरी भित्र पसेको धार्मिक मानिस भोली पल्ट मात्र पानी मुनीबाट सकुसल निस्कने तथा परापूर्वकालमा खेतमा रोपाइँ गर्न आउने पाँचवटी सुन्दरी कन्याहरु रोपाई सकेपछि एकाएक हराउने र कसैले चियो गरेपछि सवै कन्याहरु सोही पोखरीमा अलप भएर गएका जस्ता कथनहरु सिन्धुलीको जनमानसमा ब्याप्त छ ।

लंगुरेश्वर–मधुगंगा, बाबाधाम

साविक हत्पते गाउँ विकास समिति वडा नं. २ मा भारत तथा नेपालका भक्तजनहरुको अगाध आस्थाको प्रतिक लंगुरेश्वर–मधुगंगा, बाबाधाम रहेको छ । प्राकृतिक गुफा भित्र माहादेव, पार्वती, गणेश तथा कुमारका प्राकृतिक मुर्तिहरु भएको यस गुफामा भक्तजनहरुको असाधारण घुँइचो लाग्दछ । साधारणतया श्रावण महिनामा बोलबम भन्ने मन्त्रोच्चारणका साथ नेपालका मात्र नभई भारतका समेत तिर्थालुहरु यस पवित्र स्थानमा आई दर्शन गर्दछन् । यस वावाधामको विशेषता मनोकांक्षा पुराहुने हो । यहाँ भारतका धेरै तिर्थालुहरुले आफ्नो मनोकांक्षा पुरा भएकै कारणले गुफाको लागि विभिन्न भौतिक वस्तुहरु चढाएका छन् ।

सर्बशिद्धेश्वर महादेव गुफा

साविक वालाजोर गाउँ विकास समिति वडा नं. ८ अन्तर्गत सिमले भन्ने स्थानमा अद्भुत प्राकृतिक गुफा रहेको छ जसलाई सर्वशिद्घेश्वर महादेव गुफा भनेर चिनिन्छ । यो विस्तार विस्तार चर्चाको शिखर चढदै गरेको गुफा भएकोले यहाँ आउने दर्शनार्थिहरुको पनि घुइँचो लाग्न थालेको छ । गुफा भित्रका देवी दवताका अभुतपुर्व आकारहरु, तलाउ तथा ठुलो आकारको संख देख्दा प्राकृतिक रुपमा कसरी यस्ता चिजहरुको निर्माण भयो भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । सर्व शिद्घेश्वर माहादेव गुफा धार्मिक दृष्टिकोणबाट निकै महत्वपुर्ण त छँदैछ तर यो गुफा अध्ययन तथा अनुसंधानको पनि महत्वपूर्ण विषय हुन सक्छ ।स्थानीय वाशिन्दाहरुले यस गुफा भित्र सोलार वत्तिको प्रयोग गरेकोले भित्रका कलाकृतिहरु हेर्न कुनै गाह्रो नै हुँदैन । गुफामा हरितालिका तिज, ठूली एकादशी, वालाचतुर्दशी, विवाह पंचमी तथा शिवरात्रीका पर्वहरुमा मेला लाग्दछ ।

कुशेश्वर महादेव 

कुशेश्वर माहादेव सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका अन्तर्गत पर्दछ । हिमवत खण्डमा समेत यस माहादेवको प्रसंग आएको र यसलाई आधिलिङ्ग माहादेव भनेर उल्लेख गरिएका प्रसंगहरु विभिन्न लेखहरुमा पाइन्छ जसले गर्दा यो मन्दिर पौराणिक कालदेखि नै अस्तित्वमा रहेको सहजै आकलन गर्न सकिन्छ । कुशेश्वर माहादेवको अवस्थिति अत्यन्त सुगम स्थानमा छ । सिन्धुलीमाढी वनेपा सडक खण्डको नेपालथोक भन्ने स्थानबाट करिव ३ कि.मि.को दूरीमा कोशी र रोशी नदीको संगम स्थलमा कुशेश्वर माहादेव मन्दिर छ । यस मन्दिरमा धेरै पटक अखण्ड माहायज्ञहरु सम्पन्न भै सकेका छन् । मन्दिरमा भक्तजनहरुको आवत जावत क्रम भइरहे पनि विशेष गरि सोमवार, वालाचतुर्दशी तथा महाशिवरात्रीको दिन यस मन्दिरमा ठूलो मेला लाग्दछ ।

भद्रकाली गणेशस्थान

कमलामाइ नगरपालिकाको वडा नं २ मा गणेश स्थान पर्दछ । यस मन्दिर पनि भक्तजनहरुको आस्था तान्न सफल हुँदै गएको मन्दिर हो । यस मन्दिरमा मंगलवारको दिन भक्तजनहरुको विशेष उपस्थिति हुने गर्दछ । मन्दिरमा आफुले चिताएका कुरा सम्झेपछि पुराहुने जन विश्वास भएकाले प्रचार प्रसार भए पछि पनि यसको महत्व दिनानु दिन वढ्दै गएको हो । 

सर्पेढुंगा 

सिन्धुली जिल्ला साविक सिर्थौली गाउँ विकास समिति वडा नं. ८ अन्तर्गत ठाकुर खोलाको किनारमा सर्पेढुङ्गा रहेको छ । भिमसेन र नागहरु विचको यूद्घ सँग सम्बन्धित यो स्थानमा प्रत्येक नाग पन्चमीको दिन भक्तजनहरु आई नागदेवताको पूजाआराधाना गर्दछन् ।

 

नोटः यसमा उल्लिखित तथ्याङ्क तथा विषयवस्तुहरु जानकारी प्रयोजनका लागि मात्र हो । सम्बन्धित श्रोत सामग्रीबाट मात्रै आधाकारिकता एकिन गर्न अनुरोध छ ।

 

विषयवस्तुका श्रोतहरुः सिन्धुली जिल्ला जनसंख्या पाश्र्वचित्र, २०७०, राष्ट्रिय जनगणना, २०६८, www.bijayakilla.com लगायत वेभसाइटहरु, फेसबुकपेजहरु र तस्वीर श्रोतः गुगल सर्च ।


Last Updated : 2082-12-26 09:39:36

© All Rights Reserved to District Administration Office, Sindhuli .